काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पीएचडी) उपाधि नपाई झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सह–परीक्षा नियन्त्रक पद हासिल गरेको आरोपमा त्रिवि अन्तर्गतका चार प्राध्यापकविरुद्ध विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले नपाएको उपाधिलाई आफू पीएचडीधारी भएको झुटा दाबी गर्दै पद तथा सुविधा प्राप्त गरेको भनिएको छ।

सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान तथा सदस्य प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेलले प्रसाईंसँग मिलेमतो गरी परीक्षा परिणाम गणनामा अनियमितता गरेको, मापदण्ड विपरीत अंक प्रदान गरेको र झुटा विवरणका आधारमा नियुक्ति सिफारिस गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगका अनुसार प्रसाईंले आवेदन दिने समयमा विद्यावारिधि उपाधि प्राप्त भएको भन्दै झुटा कागजात पेश गरेका थिए। मौखिक परीक्षा रोकिएको अवस्थामा नै उपाधि पाएको दाबी गर्दै अतिरिक्त अंक लिई अन्तिम नामावलीमा परेको प्रमाण अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले २०८१ साउन १७ र २२ गते पदका लागि सूचना प्रकाशित गरेपछि तीन सदस्यीय समितिले प्रसाईंलाई विद्यावारिधि शीर्षकमा आठ अंक प्रदान गरी २०८१ मङ्सिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति सिफारिस गरेको थियो। तर प्रस्तुत कागजातको आधिकारिकता जाँच नगरेको आयोगको निष्कर्ष छ।

प्रसाईंले नपाएको ‘डा’ उपाधि विभिन्न कागजात, नेमप्लेट, क्यालेन्डर तथा विदेश सेमिनारसम्बन्धी प्रमाणपत्रमा प्रयोग गरेको समेत आयोगले पत्ता लगाएको छ।

आयोगले समितिका संयोजक तथा सदस्यहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ तथा १९(२०) बमोजिम र प्रसाईंविरुद्ध दफा १६, १७(१०) र २४ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 08:00:12