काठमाडौं।
बुढानिलकण्ठ नगरपालिका वडा नं.–२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले वडा २ र वडा १३ जोड्ने धोविखोला पुल निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। उनले पुल निर्माणको Side Clearance प्रक्रिया पूरा हुने अन्तिम चरणमा पुगी आफूले अब निर्माण जिम्मेवारी सक्रिय रूपमा लिएको बताएका हुन्।
अध्यक्ष श्रेष्ठका अनुसार, स्थानीय सरोकारवाला, सरकारी निकाय तथा प्राविधिक टोलीसँगको समन्वयपछि अब योजना व्यवहारिक चरणमा प्रवेश गरेको छ। उनले जनताको अपेक्षा उच्च रहेको स्वीकार गर्दै, विकास निर्माणमा तिब्रता दिने प्रतिवद्धता व्यक्त गरे।
“गाली र ताली दुवै स्वीकार्छु। आलोचना सुन्दै अगाडि बढेर काम गर्ने हो। विकासको सवालमा कुनै सम्झौता हुँदैन,” उनले भने।
श्रेष्ठले पुल निर्माण सम्पन्न भएपछि दुवै वडाका बासिन्दा, विद्यार्थी, व्यवसायी र आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो राहत हुने बताउँदै यस परियोजना वडा–२ को प्राथमिकताका रूपमा अघि बढाइने जानकारी दिए।
स्थानीयहरूमा अपेक्षा
पुल निर्माण अघि बढ्दा यातायात सहज, व्यापारिक गतिविधि वृद्धि, विद्यालय आवतजावत सुरक्षित तथा आपतकालीन सेवामा समय घट्ने भनेर स्थानीयले आशा व्यक्त गरेका छन्। केहीले समयमै कार्यान्वयन गर्न जोड दिएका छन् भने केहीले प्रशंसा गरेका छन्।
प्रतिवद्धता
अध्यक्ष श्रेष्ठले विकासमा तिब्र गतिसहित नतिजा–मुखी काम गर्ने लक्ष्य रहेकाले योजना पारदर्शी रूपमा अघि बढाइने र प्रगतिबारे नियमित जानकारी सार्वजनिक गरिने बताएका छन्।






