काठमाडौं ।  लैंगिक हिंसाविरुद्धको विश्वव्यापी १६ दिने अभियान यस वर्ष पनि नेपालभर विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। मंसिर ९ गतेदेखि सुरु हुने यो अभियानको मुल विषयवस्तु “सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं” निर्धारण गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामाका अनुसार डिजिटल प्रविधिको द्रुत विस्तारसँगै सामाजिक सञ्जाल दुरुपयोग, अवाञ्छित सन्देश, चरित्र हत्या, गोपनीयता भंग, अनलाइन धम्की, फोटो/भिडियो दुरुपयोग लगायतका डिजिटल हिंसाका घटनामा वृद्धि देखिएपछि यस वर्ष अभियानले विशेष रूपमा डिजिटल सुरक्षामाथि फोकस गरेको हो।

विद्यालयदेखि समुदायसम्म कार्यक्रम

उप–प्रमुख लामाले विद्यालयस्तरदेखि समुदायसम्म विविध चेतनामूलक तथा सक्रिय कार्यक्रम सञ्चालन हुने जानकारी दिँदै भनिन्,
“डिजिटल हिंसा केवल अनलाइनमा देखिने समस्या होइन, यो मनोवैज्ञानिक, सामाजिक र व्यवहारिक स्तरमा ठूलो समस्या बनिरहेको छ। यस विरुद्ध सबैले एकसाथ आवाज उठाउनु आवश्यक छ।”

अभियान अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गरिनेछ:

  • विद्यालयमा डिजिटल सुरक्षा तथा सुरक्षित इन्टरनेट सम्बन्धी सचेतना कक्षा

  • अभिभावक तथा शिक्षक लक्षित लैंगिक हिंसा र डिजिटल दुरुपयोग रोकथाम प्रशिक्षण

  • समुदायमा रैली, अन्तरक्रिया, सन्देशमूलक नाटक

  • महिलामाथि हुने घरायसी हिंसा, आर्थिक हिंसा, सामाजिक बहिष्कार, सवारी साधनमा हुने दुव्र्यवहार, तथा यौनजन्य हिंसा रोक्न लक्षित कार्यक्रम

  • डिजिटल हिंसा पीडितका लागि सहयोग केन्द्र र कानुनी परामर्श सेवाको प्रवर्द्धन

१६ दिनसम्म निरन्तर अभियान

अभियान मंसिर ९ गतेदेखि सुरु भई मंसिर २४ गते (मानव अधिकार दिवस) सम्म सञ्चालन हुनेछ।
यस अवधिमा बुढानिलकण्ठ नगरपालिकाले नगरका सबै १३ वडामा कार्यक्रम विस्तार गर्ने तयारी भएको छ।

डिजिटल हिंसा बढ्दो चुनौती

पछिल्ला वर्षमा विशेषगरी किशोरी, युवा महिला, विद्यार्थी, महिला जनप्रतिनिधि र सार्वजनिक भूमिकामा रहेका महिलामाथि डिजिटल माध्यमबाट हुने हिंसा तीव्र रूपमा बढिरहेको अनुसन्धानहरूले देखाएका छन्।
यसले मानसिक तनाव, सामाजिक अपमान, शैक्षिक/व्यावसायिक अवरोध तथा चरित्र हत्या जस्ता गम्भीर प्रभाव पार्दै आएको छ।

एकजुट अभियानको आह्वान

लामाले सबै संस्थाहरू—विद्यालय, समुदाय, स्वास्थ्य क्षेत्र, सञ्चार माध्यम, कानुनी निकाय र स्थानीय सरकार—लाई डिजिटल तथा लैंगिक हिंसामुक्त नगर निर्माणमा सक्रिय सहकार्यको आग्रह गरेकी छन्।